Blog Image

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ एकीकृत डिजिटल प्रणाली ‘श्रम संसार’ कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण डिजिटल सेवाहरूलाई अब एउटैद्वार प्रणाली (One-door System) मार्फत सञ्चालन गरिने भएको छ, जसले श्रम तथा रोजगार क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाद्वारा जारी सूचनाअनुसार श्रम र रोजगार क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई अनिवार्य रूपमा ‘श्रम संसार’ प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ। यसअन्तर्गत निजी क्षेत्र तथा रोजगारदाताहरू, रोजगार खोजकर्ताहरू, जब एजेन्सीहरू तथा तालिम प्रदायक संस्थाहरूलाई तत्काल दर्ता प्रक्रियामा सहभागी हुन निर्देशन दिइएको छ।

यस प्रणालीमार्फत श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जानकारी, नयाँ रोजगारीका अवसरहरू, विभिन्न तालिम तथा सीप विकास कार्यक्रमहरू एकै स्थानबाट उपलब्ध गराइनेछ। मन्त्रालयका अनुसार यसले आन्तरिक रोजगारी व्यवस्थापनलाई थप भरपर्दो, सहज र पारदर्शी बनाउनेछ भने सेवा प्रवाहमा पनि उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।

मन्त्रालयले डिजिटल रूपान्तरणको यस अभियानलाई सफल बनाउन सबै सम्बन्धित पक्षसँग सहकार्य र सक्रिय सहभागिताको अपेक्षा गरेको छ। थप जानकारीका लागि मन्त्रालयको आधिकारिक वेबसाइट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मा जान वा मन्त्रालयको कल सेन्टर ११४१ मा सम्पर्क गर्न सकिनेछ।

Source: Routine of Khadi